ताजा समाचार

Loading…


कोरोना संकटमा खटेबापत जनप्रतिनिधिलाई १२ लाख, अख्तियारले थाल्याे छानबिन

नेप्लिज संवाददाता१ भाद्र २०७७, सोमबार ०६:१५ (1 महिना अघि)  ८४ जनाले पढ़िसके

सिराहा । सिराहाको जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । यो खबर नयाँपत्रिका दैनिकले लेखेको छ ।

गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।

सिराहा नगरपालिकाले तन्ना र सिरक खरिदमा गरेको खर्चबारे चर्चा सेलाउन नपाउँदै औरही गाउँपालिकामा जनप्रतिनिधिलाई भत्ता वितरण गरिएको सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार औरही गाउँपालिकाको खर्च विवरण सार्वजनिक गरेको थियो ।

कोरोना नियन्त्रण रोकथाम जिल्लास्तरीय समितिले बिहीबार सबै स्थानीय तहलाई कोभिड– १९ मा भएको खर्च विवरण शीर्षकसहित सार्वजनिक गर्न निर्देशन दिएको छ । जिल्लाका १७ स्थानीय तहमध्ये नौवटा गाउँपालिका छन् । कोभिड– १९ रोकथाम अभियानमा गाउँपालिकामध्ये औरहीले सबैभन्दा बढी दुई करोड २० लाख ८० हजार नौ सय २९ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको खर्च विवरणमा ‘कोरोना नियन्त्रण गर्न झुल वितरण’ शीर्षक छ । गाउँपालिकाका सबै घरधुरीलाई झुल वितरण गर्न उक्त रकम खर्च भएको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष ०७६(७७ मा विपत् व्यवस्थापन कोषबाट गरिएको खर्चमा झुल खरिद रकम दोस्रो स्थानमा छ । पहिलो स्थानमा राहत वितरणको खर्च छ, जसबापत ८३ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ खर्च भएको छ । खरिद गरिएका झुल अहिले गाउँपालिकाको स्टोरमा राखिएको छ ।

यसैबीच, कोभिड– १९ रोकथाममा उक्त गाउँपालिकाले अत्यधिक खर्च देखाएको बताउँदै अख्तियारले छानबिन थालेको छ । अख्तियारको टोलीले गाउँपालिकाले गरेको खर्चको बिल, भर्पाइलगायत कागजात नियन्त्रणमा लिएको छ । टोलीले गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीता यादवलगायतसँग सोधपुछ पनि गरेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस