ताजा समाचार

Loading…


गाउँपालिकाको २५ लाख लेखापाल र आफन्तको खातामा

नेप्लिज संवाददाता२५ श्रावण २०७७, आईतवार ०६:३८ (1 महिना अघि)  २९ जनाले पढ़िसके

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी पैसा आफ्नो र आफन्तको खातामा राखेको पाइएको छ । जनप्रतिनिधि र स्थानीय बासिन्दाले विरोध गरेपछि उनले व्यक्तिगत खातामा राखेको पैसा फिर्ता गरेका छन् ।

तैपनि आर्थिक अनियमितता गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ ।

गत आर्थिक ०७६/७७ मा विभिन्न योजनाको भुक्तानी दिन बजेट नपुगेपछि गाउँ कार्यपालिकाको बैठकमा जनप्रतिनिधिले प्रश्न उठाएका थिए ।

सम्झौता भएर काम सम्पन्न भएका योजनाको भुक्तानीका लागि कसरी बजेट अपुग भयो भन्ने विषयमा खोजबिन सुरु गरिएको थियो । त्यसपछि लेखापाल केसीले पेस्की रकम भन्दै २४ लाख ९२ हजार तीन सय ७२ रुपैयाँ आफू र आफ्ना नातेदारको खातामा जम्मा गरेको खुलेको हो ।

‘बजेट अपुग भएको भनिएपछि कार्यपालिकाबाट खोजबिन सुरु भएको थियो, हिसाबकिताब खोज्ने क्रममा लेखाको स्रेस्ता हेर्दा त व्यक्तिगत खातामा राखेको पाइयो,’ छानबिनमा संलग्न एक जनप्रतिनिधिले भने । गाउँपालिकाले छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको थियो ।

लेखापाल केसीले आफ्नी पत्नी विर्मा केसी र भतिजा सुवास केसीको खातामा पैसा राखेको पाइएको हो । उनकी पत्नी विर्मा वडा नं. ५ की वडासदस्य हुन भने भतिजा सुवास लेखा सहयोगी हुन् ।

लेखापाल केसीको खातामा आठ लाख, उनकी पत्नीको खातामा आठ लाख ८६ हजार र भतिजाको खातामा सात लाख ९१ हजार राखेको पाइएको हो ।

‘कार्यपालिकाको बैठकमा गाउँपालिकाको रकम कसरी व्यक्तिगत खातामा गयो भनेर केरकार गरेपछि फिर्ता गरेका छन्,’ गाउँपालिका प्रवक्ता कर्णबहादुर खड्काले भने ।

१६ साउनमा सात लाख ८२ हजार पाँच सय ९५ रुपैयाँ, १९ साउनमा दुईपटक ६ लाख र ८ लाख ५९ हजार सात सय ७७ तथा २१ साउनमा दुई लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरेको खड्काले बताए ।

व्यक्तिगत खातामा सरकारी रकम जम्मा गरेको घटनासम्बन्धी प्रमाण नष्ट गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले खबर गरेपछि बिहीबार राति प्रहरीले लेखापाल केसीसहित चारजनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा लिइएका केसी, उनका भाइ विकास, भतिजाहरू सुवास र भीमसेनलाई शुक्रबार छाडिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

Loading…


प्रतिक्रिया दिनुहोस