ताजा समाचार

Loading…


मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, त्रासले महिलाले गरिन् आत्महत्या

नेप्लिज संवाददाता२३ श्रावण २०७७, शुक्रबार ०६:५५ (1 महिना अघि)  ११२ जनाले पढ़िसके

काठमाडाैं । छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहरमाथि मध्यराति तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ । आक्रमणबाट पाँचजना गम्भीर घाइते भएका छन् । पक्राउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छिन् ।

सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । १९ साउनको राति मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए ।

आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन् । तरबारले सरस्वतीको छातीको देब्रे भाग नै ताछिएको छ । अन्यको टाउको, गर्धन र शरीरभरि ठुल्ठूला घाउ बनेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ गर्नसमेत रुचि देखाएन ।

आक्रमण भएपछि घटनास्थल पुगेको निमुवा इलाका प्रहरी कार्यालयको टोलीले त रगताम्य घाइतेलाई अस्पताल लैजानसमेत सघाएन । घाइतेहरू रातभर घरमै छटपटाइरहे । प्रहरीको असहयोगका कारण लकडाउनका वेला घाइतेलाई अस्पताल लग्न नसकएको स्थानीय बासिन्दाले बताए ।

मुसहर परिवारमाथि आक्रमण भएको सूचना पाएपछि भोलिपल्ट बिहान छिमेकी बुढीगंगा गाउँपालिकाबाट आएका कांग्रेस गाउँ कमिटी सभापति जितनारायण थापाले पीडितलाई अस्पताल पुर्‍र्‍याएका थिए ।

उनीहरूको बुढीगंगा टंकीस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । नयाँपत्रिका दैनिकबाट

Loading…


प्रतिक्रिया दिनुहोस