ताजा समाचार

Loading…


अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार गर्ने यी दुई युवक पक्राउ

नेप्लिज संवाददाता९ श्रावण २०७७, शुक्रबार ०७:३५ (2 हप्ता अघि)  १०८ जनाले पढ़िसके

काठमाडौं । अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार गर्ने दुई युवक पक्राउ पक्राउ परेका छन् । एसिड प्रहार गर्ने भारतीय नागरिक मुन्ना महमद र मुख्य योजनाकार रौतहटका मोहम्मद आलम पक्राउ परेका हुन् ।
उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।
बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।
एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।
मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ ।
बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।
आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए ।
केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।
युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घाइते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो ।
आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू भन्ने प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई आदेश दिपछि पक्राउ गरिएको हो ।
त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ ।
त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।
कान्तिपुर दैनिकले लेखेको खबर अनुसार, महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् ।
‘उनले रुपको सारै घमण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’ तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । उनले आलमसँग त्यस्तो झैझगडा पनि कहिल्यै नभएको बताएकी छिन् ।
ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ ।
एसएसपी थापाले एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए । एसिड प्रहारपछि प्रहरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए ।
यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए । २०७१ चैतमा एसिड हान्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस