ताजा समाचार

Loading…


नवराजकी आमा भन्छिन्– काफल खाएर आउँछु भन्ने शब्द नै अन्तिम भयो

नेप्लिज संवाददाता२९ जेष्ठ २०७७, बिहीबार ०७:४० (4 हप्ता अघि)  १६५ जनाले पढ़िसके

काठमाडाैं । गत १० जेठमा प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराज विक र उनका पाँचजना साथी कहिल्यै नफर्किने गरी ठूलीभेरीको छालसँगै बगे । उनीहरूसँगै परिवारको खुसी पनि बग्यो ।

कथित उपल्लो जातको युवतीसँग प्रेम गरेको भन्दै रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८, गैरीज्युलामा गाउँलेको आक्रमणपछि जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक (२१), सञ्जु विक (२२) र गणेश बुढामगर (१९), भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार (१८) र गोविन्द शाही (१७) तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार (२०) को शव भेरी नदीमा फेला पर्‍यो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाउँलेकै आक्रमणबाट ज्यान गएको देखिएको छ । प्रहरीको नियन्त्रणमा रहेका सोतीगाउँका २७ जनाले प्रेम सम्बन्धकै कारण रुकुम घटना भएको बयान दिएका छन् । तर, ज्यान गुमाउनेका परिवारमा भने ठूलो बज्रपात भएको छ । उनीहरूका पीडा फरक फरक छन् ।

नवराजकी आमा भन्छिन्– काफल खाएर आउँछु भन्ने शब्द नै अन्तिम भयो

१० जेठमा नवराज विकको हाउभाउ छुट्टै थियो । उनी खुसी देखिन्थे । प्रायः भान्साको काम नगर्ने उनले त्यो दिन आफैँले खाना बनाए । कोठा र घरवरिपरि सरसफाइ गरे । बिहानै कपाल काटे र नुहाइधुवाइ पनि गरे । ‘टाढै जान लागेको छस् कि बाबु,’ आमा उर्मिलाले सोधिन् । उनले ‘सरसफाइ गर्न पनि नहुने भनेर’ हाँसेर टारे । ‘खाना खाएर हामी आफ्नो काममा लाग्यौँ, दिनभर उसका चप्पल कोठाबाहिरै थिए, त्यहीँ होला भन्ठान्यौँ, फोन गर्दा ‘काफल खाएर आउँछु’ भनेको थियो ।’

नवराजले आमासँग गरेको त्यही कुराकानी अन्तिम बन्यो । काफल खान जान्छु भनेर प्रेमिकालाई भगाएर ल्याउन भेरीपारि गएका उनी घर फर्किएनन् । राति ११:४५ बजे भेरीमा उनको लास भेटियो । उर्मिलाको काख खोसियो । कथित उपल्लो जातको युवतीसँग प्रेम गरेकै कारण जाजरकोटको भेरी नगरपालिका–४, खलंगा रानागाउँका नवराजको घर उजाडिएको छ ।

खलंगाकै त्रिभुवन माविबाट कक्षा–१२ उत्तीर्ण नवराज भलिबल, फुटबल र एथ्लेटिक्सका राम्रा खेलाडी थिए । विद्यालय तहदेखि नै यहाँ सञ्चालन हुने खेलकुदमा उनी सक्रिय हुन्थे ।

खेलकुदमा सहभागी भएर उनले ल्याएका प्रमाणपत्र र मेडल अब उनको याद बनेका छन् । आमा उर्मिला भन्छिन्, ‘दलित भएकै कारण उनीहरूले मारे, त्यतिले पनि नपुगेपछि मेरो छोरामाथि गाँजा र ट्याब्लेट खान्थ्यो भनेर आरोप लगाएका छन् ।’

रुकुम गएका नवराज बेलुकीसम्म पनि घर नफर्किएपछि परिवार खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसैवेला धल्ला पुलनजिकै एउटा लास भेटिएको खबर आयो । आधा रातमा नवराज र उनका साथीहरूलाई खोज्न आफन्त र छिमेकी भेरी किनार पुगे । राति करिब १ बजे शवको पहिचान भयो । दिउँसो १ बजे मुुचुल्का गरेर जाजरकोट अस्पताल ल्याइयो ।

बाबु मुनलाल भन्छन्, ‘लास ढुंगामा अड्किएको थियो, पुलिसले निकाल्न दिएन, त्यसपछि भोलि यहाँबाट बगाए कसले जिम्मा लिने ? भनेपछि डोरीले बाँधेर राखियो ।’ भेरीमा पौडी खेलेर वारपार गर्ने नवराजको लास भेटिएको खबरले गाउँमा रुवाबासी मच्चियो । बेपत्ता भएका अरू पाँच साथीका परिवार पनि आत्तिए । उनीहरूको पनि सोधीखोजी सुरु भयो । मुनलाल भन्छन्, ‘केटी आफैँ यहाँ आएर बसेको थाहा पाएपछि मैले खलंगा बस्ने उनका ठुलोबुबालाई सम्झाउन भनेको थिएँ, तर त्यसवेला उनले ‘माथिल्लो जातको घरको सम्धी बन्ने रहर नगर्नु’ भनेका थिए ।’

सम्पत्तिको नाममा मुनलाल विकको बजारछेउमा घरबाहेक केही छैन । थोरै भएको जग्गा पनि बाटोले खाइदियो । घरको कमजोर आर्थिक अवस्थाकै कारण नवराजले पढाइ छाडेर जागिर खाने विचार गरेका थिए । नेपाल प्रहरीको जवान पदमा लिखित पास गरे ।

तर, कोरोना महामारीका कारण मौखिक परीक्षा रोकिएको थियो । आमा उर्मिला घरछेउको स्कुलमा सहयोगीको काम गर्छिन् । मुनलाल मिस्त्री काम गर्थे । तर, अघिल्लो वर्ष लडेर ढाड भाँचिएपछि अहिले काम गर्न सक्दैनन् । आफ्ना हातपाउ रगडेर हुर्काएको छोराले जागिर खाएर सुख देला भनेर सोचेका मुनलालले उल्टै जवान छोराको काजकिरिया गर्नुपर्‍यो । नयाँपत्रिका दैनिकबाट

Loading…


प्रतिक्रिया दिनुहोस