ताजा समाचार

Loading…


कोरोना पुष्टि हुँदैमा अस्पताल नै भर्ना हुनुपर्छ भन्ने छैन, आइशोलेशनका यी विधि अपनाए पुग्छ – डा. पाण्डे

डा. रवीन्द्र पाण्डे१२ जेष्ठ २०७७, सोमबार १६:०१ (1 महिना अघि)  ३१५० जनाले पढ़िसके

जनस्वास्थ्य विज्ञ  डा. रवीन्द्र पाण्डेले काेराेनाकाे संक्रमणबाट बच्ने उपायबारे विभिन्न उपायहरु सामाजिक संजालमार्फत जानकारी गराउँदै आएका छन् ।  आज पनि उनले केही महत्वपूर्ण विषयलाई उठान गरेका छन् ।

उनको भनाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।

भारतबाट दैनिक दशौँ हजारको संख्यामा बिभिन्न नाकाबाट नेपालीहरु समुह समुहमा नेपालभित्र प्रवेश गरिरहेका छन् । हाम्रो क्षमता हुन्थ्यो भने ती सबैलाई PCR परीक्षण गरेर कोरोना संक्रमण पोजिटिभलाई आइसोलेसनमा राखेर तथा नेगेटिभलाई सिधै गाउँ गएर त्यहाँको क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दा सुरक्षित हुने थियो ।
अहिले उनीहरुलाई सिधै आफ्नो थातथलोमा पठाउने काम भइरहेको छ । उनीहरुलाई राख्नको लागि गाउँगाउँमा क्वारेन्टाइन केन्द्रको निर्माण गर्ने काम भइरहेको छ । अमेरिका लगायत विश्वका धेरै देशमा सरकारले क्वारेन्टाइन केन्द्र बनाएर राख्दैन । धेरै देशहरुमा २ हप्ता होटेलमा बस्नुपर्ने नियम समेत छ ।
हाम्रो देशमा बाहिरबाट आएका सबैलाई क्वारेन्टाइन केन्द्रमा राख्ने तथा कोरोना संक्रमण पोजिटिभ देखिनेबित्त्तिकै अस्पताल भर्ना गर्ने जुन परम्परा छ, त्यसलाई बदल्नु जरुरी छ । संक्रामकको संख्या बढेसंगै यो सिस्टम स्वत: अपनाउनुपर्ने हुन्छ ।
१. बाहिरबाट आएका व्यक्तिलाई परीक्षण गरेर पोजिटिभ देखिएमा क्वारेन्टाइन, होटेल वा उसको घरमा राख्ने । कोभिड पोजिटिभ देख्दैमा अस्पातल भर्ना गर्नुपर्छ भन्ने छैन । उसले आइसोलेसनको नियम अनिबार्य पालना गर्नुपर्ने, त्यसको अनुगमन गर्ने, पालना नगरेमा कडा सजाय गर्ने, सामान्य लक्षण जस्तै ज्वरो, खोकी तथा थकाइ देखिएमा लाक्षणिक उपचार गर्ने, पोषिलो खाना खाने, योग / व्यायाम गर्ने र ३ हप्ता यसरी बिताउने | त्यसपछि टेस्ट गर्दा लगातार २ पटक नेगेटिभ देखिए आफ्नो घरमा आराम गरेर बस्ने । यदि गम्भीर लक्षण देखियो भने स्थानीय निकायसंग समन्वय गरेर सम्पूर्ण सुबिधा भएको कोरोना डेडिकेटेड हस्पिटलमा जाने । त्यहाँ आबश्यकता अनुसारको सामान्य उपचार, आइसीयु, भेन्टिलेटर आदिद्वारा उपचार हुन्छ ।
२. बाहिरबाट आएका व्यक्तिलाई जांच गर्दा कोरोना संक्रमण नेगेटिभ देखिए उसलाई आफ्नो घरमा पठाउने । घरमा उ सेल्फ क्वारेन्टाइनमा बसेर थप सुरक्षित हुने तथा कारणबश संक्रमण देखिएमा अरु व्यक्तिलाई सर्नबाट रोकथाम हुन्छ ।
३. हाम्रा अधिकांश क्वारेन्टाइन WHO तथा नेपाल सरकारले बनाएका मापदण्ड अनुसार छैनन् । ती क्वारेन्टाइनमा बस्दा असुविधा हुने, अरुको संक्रमण सर्न सक्ने तथा प्राथमिक उपचार पनि नपाउने अवस्थाका छन् । सेल्फ क्वारेन्टाइन / होम क्वारेन्टाइनलाई प्राथमिकता दिने हो भने व्यक्ति आफ्नो घरमा आरामले बस्न पाउँछ, पोषिलो खाना तथा पानी नियमित पाउँछ, घरायसी बाताबरणले उसको मनोबल बढ्छ तथा उसलाई बिरामी भएको अनुभूति हुँदैन । उसले पारिवारिक सदस्यसंग ६ फिटको दुरी कायम गर्ने, आफ्ना कपडा / भाँडा तथा व्यक्तिगत सामान अरुलाई सेयर नगर्ने, सौचालय सिंगल भए राम्रो तर सामुहिक छ भने त्यसलाई राम्रोसंग सफा गर्ने, अरु व्यक्तिलाई भेटघाट नगर्ने आदि गर्दा राज्य एबम संक्रमित दुवै पक्षलाई ठूलो राहत मिल्छ । जसको घरमा दुरी कायम गरेर बस्ने अवस्था छैन भने उसलाई होटेल वा सामुदायिक भवनमा सुबिधायुक्त बाताबरण सिर्जना गरेर राख्न सकिन्छ ।
४. कोरोना संक्रमण लामो समय जान सक्ने भएकोले राज्यले दुरदृष्टि राखेर यी तौरतरिकालाई थप सुदृढ र ब्यबस्थित बनाउनु जरुरी छ ।
५. हालका क्वारेन्टाइन केन्द्रमा सामाजिक दुरी कायम नभएको, भेन्टिलेसन तथा पंखाको ब्यबस्था नभएको, पर्याप्त सौचालय नभएको, मेस तथा खाना खाने ठाउँमा निर्मलीकरण नभएको, मास्क / पंजा लगायत प्रयोग गरिएका फोहोर डिस्पोज गर्ने ब्यबस्था नभएको, नुहाउने / कपडा धुने ठाउँ सिमित भएको, प्राथमिक उपचारको लागि औषधि तथा स्वास्थ्यकर्मी नभएको, बिरामी हुँदा एम्बुलेन्सको प्रयोग सुगम नभएको लगायत धेरै असुविधा भएको भुक्तभोगीहरुले बताएका छन् । स्थानीय निकाय तथा प्रदेश सरकारले यसलाई ब्यबस्थित गर्नु जरुरी छ | ब्यबस्थित नगर्दा हाम्रा क्वारेन्टाइन रोग सार्ने गृहको रुपमा परिणत भइरहेका छन् |

Loading…


प्रतिक्रिया दिनुहोस