ताजा समाचार

Loading…


आस्था राउत र प्रहरीबीचको विवाद छताछुल्ल (भिडियो सहित)

नेप्लिज संवाददाता४ माघ २०७६, शनिबार ०५:१४ (6 महिना अघि)  २३३ जनाले पढ़िसके

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुर्व्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ । १ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् ।
गायिका राउतले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि विवाद सुरु भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुजेटअनुसार कफी र ज्याकेटलाई लिएर विवाद सुरु हुन्छ । एक्सरे गेटबाट प्रवेश गरेपछि महिला प्रहरीले ज्याकेट खोल्न आग्रह गर्दा राउत रिसाउँछिन् । हातमा रहेको कफीको कप पनि राख्न लगाउँछिन् ।
आक्रोशित हुँदै राउत ज्याकेट डेटल डिटेक्टर मेसिनमा राखेर चेकिङमा आउँछिन् । महिला प्रहरी रमिता श्रेष्ठले शरीर चेकजाँच गरी उनलाई कफी फिर्ता दिन खोज्छिन् । उनी लिन मान्दिनन् । उल्टो प्रहरीलाई गाली गरेपछि विवाद सुरु भएको देखिन्छ ।
त्यही क्रममा उनको कफी झोलामा पोखिन्छ । महिला प्रहरीले सुरुमा हात तानेर जबर्जस्ती दिन खोज्छिन् । पछि झोलाभित्रै राखिदिन खोजेपछि भनाभन हुन्छ । त्यही विषयलाई लिएर राउतले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा भिडियो राखेपछि विवाद सार्वजनिक भएको हो ।

प्रहरीले त्यसको ‘काउन्टर’मा शुक्रबार सिसिटिभी भिडियो सार्वजनिक गरेको छ । भिडियोमा प्रहरी चेकजाँचलाई राउतले असहयोग गरेको देखिन्छ । तर, प्रहरीले आफ्नो बचाउका लागि विमानस्थलको संवेदनशील भिडियो अनौपचारिक रूपमा सार्वजनिक गरेको हो ।
प्रहरी प्रवक्ता डिआइजी सैलेश थापा क्षत्री भन्छन्–ठूलो संगठन भएकाले कहिलेकाहीँ कमजोरी हुन सक्छ । प्रहरीको व्यवहारमा व्यापक परिवर्तन आइसकेको छ ।
प्रहरीमाथि लगाएका आरोपमा राउतले माफी मागेकी छिन् । तर, आफूमाथि दुर्व्यवहार नै भएको उनको दाबी छ । ‘तँ’ भनेर हेपेको तथा कफी झोलामा पोखिदिएको उनको आरोप छ । गायिका राउतले आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा उजुरी गरेपछि यो प्रकरण झन् पेचिलो बनेको छ । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी सैलेश थापा क्षत्रीले बताए ।
विमानस्थलको सो प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीको कुनै कमजोरी नदेखिएको उनको दाबी छ । ‘७५ हजारभन्दा ठूलो संगठनमा सानातिना कमजोरी हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यही विषयलाई लिएर समग्र प्रहरीलाई नराम्रो भन्नु गलत हो, पछिल्ला वर्ष प्रहरीले आफ्नो व्यवहारमा व्यापक सुधार गरेको छ ।’
समग्रमा प्रहरीको व्यवहार रुखो रहेको राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । ‘सर्वेन्द्रजी र पुष्करजीले राम्रोसँग बोलेर मात्र प्रहरीप्रति जनता खुसी हुन सक्दैनन्,’ उनी भन्छिन्, ‘प्रत्यक्ष रूपमा जनतासँग डिल गर्ने प्रहरीको व्यवहारमा आमूल परिवर्तनको खाँचो छ ।’
आफैँ पनि प्रहरीको व्यवहारबाट पीडित भएको उनको अनभुव छ । भन्छिन्, ‘पद थाहा नहुँदा रुखो व्यवहार हुन्छ, पद थाहा पाएपछि अर्कै व्यवहार हुन्छ, त्यो ठीक होइन, आमव्यक्तिलाई प्रहरीले सधैँ नरमता देखाउनुपर्छ ।’ दैनिक जनतासँग डिल गर्ने एयरपोर्टजस्ता ठाउँमा काम गर्ने प्रहरीलाई व्यवहारसम्बन्धी विशेष तालिमको आवश्यकता हुने उनको भनाइ छ । आमनागरिकलाई प्रहरीले अपराधीको जस्तो व्यवहार हुने गरेको उनी बताउँछिन् ।
प्रहरीको व्यवहारको विषय लामो समयदेखि उठ्दै आएको छ । खासगरी तल्लो तहका प्रहरीको व्यवहार राम्रो हुन नसकेको प्रहरी अधिकारीहरूले आफैँ पनि स्वीकार गर्दै आएका छन् । सुधारका लागि विभिन्न प्रयास पनि गर्दै आएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस